२९ असोज, दाङ । जब-जब दशैं नजिकिन्छ । दाङसहित पश्चिम नेपालको तराइ जिल्लाका थारु समुदायमा पनि दशैंको रौनक बढ्दै जान्छ। थारु गाउँ बस्तीमा महीनादिन अगाडी नै नाँचिने सखिया नाँचले थारु समुदायको दशैं हर्षोउल्लास भइदिन्छ।

यद्यपी कोभिड संक्रमणका कारण पहिलेजस्तो रौनक भने यस वर्ष छैन। तथापी थारु समुदायमा दशैं अर्थात दश्‍याको उत्साह घटेको छैन । दशैंको नवौदिन थारु समुदायको बाहुल्यता रहेको दाङ, बाँके, बार्दिया, कैलाली, कञ्चजपुर र सुर्खेत जिल्लामा आफ्नै मौलिक परम्परासहित यो समुदायले हर्षोउल्लासहले दशैं मनाउँछन् ।

हिन्दुधर्म झै थारु समुदायले दशै मनाउने भएपनि उनीहरुको आफ्नै मौलिक संस्कृति, परम्परा र धार्मिक अनुष्ठा अनुसार नवौंदिनमा सेतो टीका र जमरा लगाएर दशैं मनाउने गर्दछन् ।

दशैलाई ‘दश्‍या’ भनेर मनाइने यो पर्व थारु समुदायको माघी र अट्वारी पछिको अर्को ठूलो पर्व हो । यसका आफ्नै मौलिक संस्कृति छन् । थारु समुदायले दशैलाई हिन्दुधर्मालम्बी झै दुर्गाले माताले १०औं दिन राक्षकमाथि विजय गरेको दिनका रुपमा मनाउँदैनन् ।

बरु यो पर्वमा थारु समुदायले आफ्ना कुलदेउतालाई पुज्दै पुर्खा र पितृको सम्झना गर्छन् । पितृलाई प्रसाद चढाउन् । महीना दिनभर आफ्नै मौलिक नाँच सखिया नाँच्दै नवमीको दिन गाउँमा सामूहिक रुपमा टीका लगाएर आफ्नै संस्कृति र पम्पराका अनुसार यो समुदायले ‘दश्‍या’ अर्थात दशैं मनाउँछन् ।

‘दशिया’

हिन्दुधर्मलाम्बी झै घटस्थापनाको दिनदेखि थारु समुदायमा पनि घर घरमा जमरा राखेर दशैं शुरु हुन्छ । तर जमरा जौंको होइन मकैको राखिन्छ । थारु समुदायका अगुवा तथा मतहवा चन्द्रप्रकाश चौधरी भन्छन्– ‘मकैको जमरा राखेर थारु समुदायामा दशैं भित्रन्छ । त्यसपछि ‘दश्‍या’ मनाउन शुरु हुन्छ ।’

थारु समुदायले विषेश त पुर्खाको सम्झना र पितृको श्रद्धा गर्ने पर्वका रुपमा यसलाई मनाउने उनी बताउँछन् । महाष्टमीको साझ हरेक घर-घरमा पितृहरुको सम्झना गर्दै कुल देविदेउतालाई रक्सी, ढिक्री, खरौपैवा लगायत प्रसाद चढाइन्छ। ‘कुभिण्डोको बलि दिएर रक्सी, ढिक्रीसहित प्रसाद देउतालाई चढाइन्छ’ उनले भने ‘त्यस साँझ हरेक घरघरमा मादल बजाउदै कुलदेउताको पूजा गरिन्छ ।’

नवौमीको एका विहान भने चल्लाको बच्चा पुझ्दै पितृहरुको श्राद्ध गरिन्छ । भात र माछासहित पाँच थरिका तरकारी टपरीमा राखेर आफ्ना पितृलाई प्रसाद चढाइने उनले बताए ।

नवौं दिनमा टीका

हिन्दुधर्म अनुसार दशमीको दिन टीका लगाउने प्रचलन भएपनि थारु समुदायमा नवमीको दिन टीका र जमरा लगाउने प्रचलन छ। थारु समुदायले नवमीको दिन सामूहिक रुपमा टीका लगाउन शुरु गर्छन् ।

नवमीको एका विहान भने मतहवा सहित केही गाउँलेहरु जुटेर भुर्‍यारथान (थारुको देउता पुज्ने ठाउँ)मा पूजा गर्छन् । मतहवाले भुर्‍यारथानमा पूजा गरेर टीका गरेपछिमात्र गाउँमा टीका खुल्ने उनले बताए । ‘पितृलाई प्रसाद चढाइसकेपछि दिउँसो मतहवा (गाउँको थारु मुखिया) घरमा पुगेर सामूहिक रुपमा टीका लगाउन शुरु गरिन्छ ।’ उनले भने ।

टीका खुलेपछि गाउँलेहरु मतहवाको घरमा पुगेर सामूहिक रुपमा टीका र जमरा लगाउन शुरु गरिन्छ । ‘मतहवाको हातबाट गाउँहरुले दिउँसोदेखि टीका लगाउन शुरु गरेर साझसम्म चल्छ’ उनले भने, ‘पुरुषहरुले मतवाबाट र महिलाहरुले मतौनी (मतहवाकी श्रीमती)को हातबाट टीका लगाउँछन् ।’

मान्‍यजनबाट टीका ग्रहण गर्नुपर्छ भन्ने मान्यता अनुसार मतहवाबाट सिंगो गाउँलले टीका लगाउने प्रचलन रहेको उनले बताए । टीका लगाउदा गाउँलेहरुले मतहवासँग गाउँ राम्रोसँग चलाउन आग्रह गर्दै सुख-दु:खमा हेर्न र गाउँमा हुने आपतविपतबाट जोगाउन भनेर अशिष माग्छन् ।

लोक संस्कृतिविद् डा.गोविन्द आचार्यका अनुसार थारु समुदायमा गउँल्या टीका र राजा टीका भनेर दुई दिन हुन्छ । नवमीको दिनमा गउँल्या टीका भने सामूहिक रुपमा लगाइन्छ भने अर्कोदिन राजा टीका लगाइन्छ । डा. आचार्यले दोस्रो दिनको टीका जमिन्दराबाट टीका थाप्ने र टीका लगाइनेदिने प्रचलन रहेको बताए ।

सेतो टीका, मकैको जमरा

थारु समुदायको संस्कार र संस्कृति वौद्धधर्म र हिन्दुधर्मसँग जोडिएको थारु समुदायका ज्ञाताहरु बताउछन् । ‘थारु समुदायले हिन्दुधर्म र वौद्धधर्म अंगालेको देखिन्छ’ थारु समुदायका जानकार कुलवीर चौधरी भन्छन्, ‘थारु समुदायका संस्कृति र परम्पराहरु हिन्दु र वौद्धधर्मसँग मिल्दोजुल्दो छ ।’

दशैंमा लगाइने थारु समुदायले लगाउने सेतो टीका विजय उत्सवको रुपमा नभएर शान्तिको प्रतिकका रुपमा लगाइने उनले बताए । थारु समुदाय वौद्ध धर्मसँग मिश्रित भएकाले भोज, विवाह, चाड पर्वमा जस्ता कार्यमा सेतो टीका लगाइने प्रचलन रहेको कुलवीर चौधरीले बताए । ‘शान्तिका प्रतीकका रुपमा थारु समुदायले चामललाई मुछेर सेतो टीका लगाउने गरिन्छ’ उनले भने।

त्यसो त दशैंमा जौंको जमराको साटो मकैको लगाइन्छ। कारण के त ? उपप्राध्यापक समेत रहेका कुलवीर चौधरी भन्छन्- ‘मकैको जमरा किन लगाइन्छ भन्ने लिखित कतै छैन । तर परापूर्वकालमा मकै नै थारु समुदायको प्रमुख अन्न बाली भएकाले जमराका रुपमा लगाउन थालिएको भनेर मान्न सकिन्छ ।’ यो प्रचलन पुर्खौदेखि चल्दै आएको उनले सुनाए ।

सखिया नाँचमा कृष्णको कथा

थारु समुदायमा नाँचिने महत्वपूर्ण नाँच मध्ये एक हो, सखिया नाँच । कृष्णजन्मअष्टीबाट शुरु भएर दशैंसम्म नाँचिने यो नाँच थारु समुदायका अविवाहित महिलाहरु सामूहिक रुपमा नाँच्छन् । महाभारतका कृष्ण, राधा, कंश, बासुदेव र देवकीको कथामाथि आधारित यो गन्थ्रलाई एक महीनासम्म गीतका रुपमा गाउँदै र नाँच्दै मनाइन्छ ।

‘कृष्णको कथालाई गीतका रुपमा थारु भाषामा एक महीनासम्म गाइन्छ’ उनले भने ‘जसमा कृष्ण, राधादेखि कंश जस्ता सबै पात्रका घटनाहरुलाई थारुहरुले गीतको रुपमा गाउँछन्।’

दशैंसम्म नाँचिने यो नाँच गाउँको मतहवाको घरमा थारु समुदायका महिलाहरुले उल्लाहासक पूर्वक नाँच्छन् । दशैं सकिएको केहीदिन लगतै सखिया नाँच समापन गरिन्छ।

रोचक के छ भने यो गीतको लिखित अभिलेख गरिदैन। पुराना पुस्ताबाट नयाँ पुस्तालाई हिन्दु गन्थ्रको यो कथालाई थारु भाषाको सखिया गीतका मौखिम रुपमा पुस्तन्तारण गरिदै आएको छ । तर अहिले यो गीत भने लोपोन्मुख अवस्थमा छ ।

यता कोरोना संक्रमणको जोखिमका कारण थारु गाउँमा नाँचगानको खासै रौनक नभएको दाङ मतहवा संघका अध्यक्ष चन्द्रबहादुर चौधरीले बताए । तथापी गाउँघरमा भने अझै पनि सांस्कृति जोगाउन भन्दै सखिया नाँच नाँचिदै आएको उनले बताए ।

बर्कीमार अर्थात महाभारतको कथा

दशैंमा थारु समुदायले नाँच्ने अर्को नाँच हो, बार्की मार । बार्की मारको अर्थ हुन्छ, ठूलो युद्ध । थारु समुदायले नवमीको दिन दशैको टीका लगाउँदै गर्दा पूरुषहरुले गाउँने गीत हो यो । थारु भाषा गाइने बर्कीमार गीत हिन्दुग्रन्थ महाभारतमा आधारित छ ।

२६ अध्याय रहेको महाभारतको कथालाई गीतका रुपमा पुरुषहरुले मादलको तालमा गाउँछन् । महाभारतको हरेक घटनाक्रम र संवादलाई थारु भाषाको गीतमा रुपमा गाउँदै मतहवाको घरमा टीका लगाइन्छ । ‘टीका चलिरहेको बेला यो गीत गाइन्छ’ कुलवीर चौधरीले भने ।

हराउँदै मौलिक संस्कृति

आजभोलि यी नाँच छोडिदै जादा लोपोन्मुख भएको लोक संस्कृति विद् डा. गोविन्द आचार्य बताउछन् । ‘आधुनिकतामा रमाउँदै जादा सखिया नाँचको मौलिकता हराउँदै गएको छ’ उनी भन्छन् ‘धेरै ठाउँमा महतवा प्रथा हट्न थालेको छ । त्रमश.. भुइँहार थानमा पूजा गर्ने जस्ता संस्कृति हराउँदै छ ।’

चाडपर्वमा गरिने धार्मिक अनुष्ठान र सँस्कृति पनि छोडिँदै र सकिँदै गएको उनको भनाइ छ । ‘आधुनिकतासँगै रमाउँदै जाँदा थारु समुदायको मौलिक संस्कृति क्रमश.. हराउँदै गइरहेको छ ’ उनी भन्छन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय