गाउँक्षेत्रमा सामान्य घर बनाउन आफैं मिस्त्री-कामदार खोजेर काममा लगाउन सकिन्छ। काममा आएको दिनको मात्रै ज्याला तिरिन्छ। काठमाडौं उपत्यकाजस्तो सहरमा यो सम्भव छैन।

सकिन्छ, सबै घर बनाउने जिम्मा कुनै निर्माण कम्पनीलाई दिनुपर्छ। नभए कुनै न कुनै माध्यम अपनाएर स्थानीय ठेकेदारलाई नै काम जिम्मा लगाउनुपर्छ।

यो लेखमा हामीले घर बनाउँदा लगाइने ठेक्का प्रणाली र यसको खर्चबारे जानकारी लिएका छौं।

निर्माण कम्पनी ‘बिल्ड इनोभेसन’ का निर्देशक तथा इञ्जिनियर सुवास अधिकारीका अनुसार ठाउँ हेरी ठेक्का लगाउने चलन फरक हुन्छ।

 

यहाँ हामीले काठमाडौं उपत्यकामा प्रयोग भइरहेका प्रमुख तीन ठेक्का प्रणालीबारे चर्चा गरेका छौं। यसअनुसार घर बनाउन चाहिने सबै सरसामान घरधनीले किन्नुपर्छ। जिम्मा लिएका ठेकेदारले सम्झौताअनुसार पैसा लिएर घर बनाइदिन्छन्।

वर्गफुट नापका आधारमा सम्झौताः

वर्षफुट नाप्ने चलन अहिले सबभन्दा धेरै प्रयोगमा छ। यो सजिलो र सबैले बुझ्ने खालको पनि छ। यो विधिअनुसार घरको पहिलो ढलान सकिएपछि यसको छतले ओगटेको सबै क्षेत्रफल नापिन्छ। वर्गफुटको दरका हिसाबमा चलनचल्तीको पैसा ठेकेदारलाई तिर्नुपर्छ।

उदाहरणका लागि, कुनै एकतले घरको बरन्डासहित छतले एक हजार वर्गफुट क्षेत्रफल ओगट्छ। त्यस्तै ठेकेदारसँग प्रति वर्गफुट पाँच सय तिर्ने सम्झौता भएको छ। यहाँ एक हजार वर्गफुटको एक तले घर बनाएको पाँच लाख रूपैयाँ ठेकेदारलाई तिर्नुपर्छ।

‘घरमा गरिने कामका आधारमा ठेकेदारलाई प्रति वर्गफुट तिर्ने रकम फरक हुन्छ। सामान्यतया जग, गारो र ढलानको मात्रै काम गरेको प्रति वर्गफुट चार सय लिने-दिने चलन छ,’ इञ्जिनियर अधिकारीले भने। ढलानसँगै प्लास्टर र अन्य काम पनि ठेकेदारले गर्नुपर्ने भए रकम बढ्दै जान्छ।

यो चलनअनुसार घर निर्माणमा के-के काम गर्नुपर्ने हो, पहिले नै घरधनी र ठेकेदार मिलेर निधो गरिएको हुन्छ। जस्तैः छतसम्म मात्रै बनाउने, प्लास्टर गर्ने, टायल, मार्बल लगाउने वा फिनिसिङ गर्ने। काम थपिँदै जाँदा प्रति वर्गफुट ठेकेदारले माग्ने रकम पनि बढ्दै जान्छ।

इञ्जिनियर अधिकारीका अनुसार घरको जग राखेपछि, पहिलो तलाको ढलान गर्नुअघि, ढलान भइसकेपछि किस्ताकिस्तामा ठेकेदारले रकम माग गर्छन्। जति क्षेत्रफल छतले ओगटेको छ, सो बराबर तोकिएको वा सम्झौता भएको रकम ठेकेदारलाई तिर्नुपर्छ। त्यस्तै दोश्रो, तेश्रो तलामा पनि छत नापेर नै पैसा दिनुपर्ने हुन्छ। यसमा दुवै पक्षले आपसी समझदारीमा काम लगाउन सक्छन्।

सामग्री/वस्तुको दर (आइटम रेट) का आधारमा सम्झौताः

सामग्री/वस्तु दर सम्झौतामा भनेको प्रत्येक कामको छुट्टाछुट्टै हिसाब गरी काम सकिनासाथ भुक्तानी गरिन्छ। अधिकारीका अनुसार घर बनाउँदा प्रत्येक कामको पहिले नै मूल्य निर्धारण गरी सम्झौता गर्नुपर्छ। जस्तैः जग खन्दा एस्काभेसनको मूल्य पहिले निर्धारण गर्ने, काम सकिएपछि पैसा तिर्ने। डिपिसी उठाएको छुट्टै रकम तोक्ने, काम सकिनासाथ पैसा तिर्ने।

‘सरकारी वा सार्वजनिक काम गर्दा यो विधि उपयुक्त मानिन्छ,’ इञ्जिनियर अधिकारीले भने, ‘निजी घर बनाउँदा भने यो अभ्यास निकै कम भइरहेको छ।’

पहिले नै सम्झौता गरेर काम सुरू गरिने हुँदा यस्तो विधिमा समस्या आउने सम्भावना कम हुन्छ।

‘वर्गफुट नाप्ने सम्झौताअनुसार काम गर्दा भने बीचमा केही घटबढ गर्नुपरे मूल्यमा तलमाथि गर्न मिल्दैन वा अप्ठ्यारो हुन्छ,’ उनले भने, ‘यसमा भने सहज छ। जस्तो एउटा धारोको ठाउँमा चार वटा राख्न मन भए हिसाब गरेर रकम थप्न सकिन्छ। किनकि पाइपलाइन र धारो जडानको छुट्टै दर तोकिएको हुन्छ।’

लमसम सम्झौताः

यो सम्झौता अनुसार घरधनीले ज्यालामा काम गर्नुपर्ने जति सबै जिम्मेवारी ठेकेदारलाई दिएको हुन्छ। तर निर्माण कम्पनीले घर बनाएको हकमा यो लागू होइन। घरधनीले आफ्नै निगरानीमा बनाउन चाहेको अवस्थामा यो सुविधा छनौट गर्न सक्छन्।

जस्तैः यहाँ ठेकेदारले दस लाख रूपैयाँमा सिमेन्टसँग सम्बन्धी सबै काम गरिदिन्छु भन्ने प्रस्ताव राख्न सक्छ। यसमा घर धनी र ठेकेदार पक्षले सम्झौता गरी काम गर्न सक्छन्।

माथिका तीनवटै ठेकेदारी प्रणालीमा काम गर्दा लाग्ने समय, काम गर्ने स्थान, कामको किसिम लगायत कुराले लागत निर्धारण हुन्छ। सामान्य समयभन्दा चाँडो घर बनाउन परे, लामो दुरीमा ठेकेदारका सामग्री ढुवानी गर्नुपरे वा जटिल र नौलो डिजाइन जस्ता कुराले ज्याला बढाउने उनले जानकारी दिए।

त्यस्तै संरचनाको आकारले पनि ज्याला निर्धारणमा फरक पार्छ। स्वभाविक रूपमा ठूला घर बनाउनभन्दा साना बनाउन महँगो पर्छ। त्यस्तै रिङरोडभित्र बनाउनेभन्दा रिङरोडबाहिर बनाउँदा ज्याला सस्तो पर्छ। किनकि रिङरोडभित्र दिउँसो निर्माण सामग्री ओसार्न पाइँदैन।

आफूले तिरेको वा सम्झौता गर्न लागेको रकम धेरै हो वा थोरै, यसबारे बुझ्न नगरपालिका वा वडा कार्यालयसँग सल्लाह लिन सकिन्छ। हरेक पालिकाले प्रत्येक आर्थिक वर्षमा सीप नजानेका मजदुर ज्याला, सीप जानेका कामदार ज्याला र प्रत्येक निर्माण सामग्रीको दर तोकिदिएको हुन्छ।

माथिका जानकारीलाई आधार मान्दा एक हजार वर्गफुटको चार कोठे घर बनाउन ठेकेदार ज्याला मात्रै चारदेखि छ लाख रूपैयाँ लाग्छ। याद राख्नुहोस्, समय, ठाउँ र डिजाइनले ज्याला फरक पार्छ।

यसबाहेक सिभिल वर्क/स्ट्रक्चर वर्क र फिनिसिङ वर्क गरी अरू दुई किसिमले पनि ठेक्का लगाउन सकिन्छ।

सिभिल/स्ट्रक्चर वर्कमा घरधनीले हात्तीपाइलेदेखि ढलान र प्लास्टरसम्मको निर्माण ठेक्कामा लगाउन सक्छन्। एउटा ठेकेदारले यति काम गरेपछि फेरि अर्कोसँग सम्झौता गरी टायल, बिजुली, प्लम्बिङ, किचन सेटअप, फर्निसिङ, पार्केटिङ जस्ता काम गर्न सकिन्छ।

फिनिसिङको काममा पनि फरक-फरक ठेकेदारलाई लगाउन सकिन्छ। जस्तैः आफ्ना साथी वा आफन्तको फर्निचर व्यवसाय छ भने भरपर्दोको हिसाबले फर्निसिङ काम उसलाई दिन सकियो। बाँकी काम अन्य ठेकेदारलाई लगाउँदा भयो।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय